विषयवस्तुमा जानुहोस्

सम्झौता

अप्रील 29, 2012

साभार:- (रुपरेखा, पूर्णाङ्क २१८, २०३६ असारबाट) 

-विश्वम्भर चन्चल-

एकदिन उनले मलाई भेटेर सुनाइन् “मलाई छोरो पाउने इच्छा छ, तिमी पूरा गराइदिन्छौ ?” अप्रत्याशित उनको यस कुराले म अवाक् भएँ र ट्वाल्ट्वाल्ती उनको अनुहारलाई हेरिरहेँ।

के हेरिरहेको ? उनले अनुहारको हाँसो लुकाउँदै सोधिन्, ममा छोरो पाउने गराइदिन तिमीमा सामर्थ्य छ भने म तिमीसँग सुत्न राजी छु।

उनको यस भनाईमा मेरो पौरुषमाथि एउटा हाँक झल्कन्थ्यो। उनलाई छोरो पाउने गराइदिन मलाई कुनै गाह्रो त थिएन तर उनले मसँग यस्ता कुरा त्यतिको आँट गर्नुमा मेरो मनमा शंका उत्पन्न हुनु पनि स्वाभाविकै नै थियो। मैले सोधेँ, तिमीमा किन यो चाहना भयो ? फेरि……तिम्रो र मेरो बीचमा यस्तो काम हुनु समाजमा के मान्य होला ?

मेरो कुराले उनी झन् हाँसिन्। भनिन्, तिमी काँतर भयौ। समाजको मान्यतालाई आड दिएर आफ्नो काँतरपना लुकाउन खोज्छौ। कि तिम्रो पौरुष पनि मरिसकेको छ ? अथवा तिम्रो वीर्य नै क्षीण बनिसकेको छ ? तिमी आफूलाई नै ममा छोरो पाउने गराइदिने विश्वास छैन भने भैगो तिमी पनि नपुंसक बनिसकेछौ। होइन भने सुत मसँग र मेरो छोराको बाबु बन।

मलाई बाबु बन्नुमा कुनै रहर थिएन। ’cause मेरा आफ्नै बगाल छोराहरु जन्मिसकेका थिए। मेरी स्वास्नीको भर्खरको यौवन पनि बूढ्यौतिमा खुम्चिसकेको थियो। प्रत्येक पल्ट छोरो जन्मँदा स्वास्नी भन्थी, परिवार नियोजन गर्नोस्। म भन्थेँ, हामीलाई एउटा छोरीको खाँचो छ। पख तिमीले एउटी छोरी पाएपछि या तिमीले या त मैले नै नियोजन गरुँला। तर हामी दुई केवल छोराकै प्रयोजनका लागि मात्र भयौँ। हाम्रो बीचमा छोरीको आशाले नियोजन भने कहिल्यै हुन सकेन।

यही कुरा मैले उनलाई सुनाउँदा उनले भनिन्, तिमीलाई जसरी एउटी छोरी पाउने इच्छा छ उसरी नै मलाई एउटा छोरो पाउने इच्छा छ। छोरी, तिमी केवल व्यक्तिगत इच्छास्वरुप पाउने चाहन्छौ, छोरीको बालसुलभ क्रिडाको अनुभव गर्न खोज्छौ। म सामाजिक मान्यता र करले एउटा छोरा पाउन चाहन्छु।

किन, आजको जमानामा छोरी र छोरामा के भिन्नता ? छोरी पनि त छोरा जस्तै शिक्षित, बुद्धिजीवी र ठूला ओहोदामा पुग्न सक्छन् भने तिमीमा किन सामाजिक मान्यता नहुनु ? किन छोरो नै पाउने रहर हुनु ? मैले भनेँ।

यो भाषण नगर तिमी, उनले सहज प्रवृत्तिमा सुनाइन्, हो ! मलाई छोरो पाउने पक्कै रहर छ। यो मेरो आफ्नै रहरले होस् वा कसैको करले होस्। तर मलाई छोरो पाउने गराइदिने सामर्थ्य मेरो लोग्नेमा भएन। त्यसैले तिमीसँग सुत्न चाहन्छु धक मारेर।

उनको यस कुराले मलाई आश्चर्यसाथै हाँसो उठ्यो र भनेँ, त्यतिका छोरीहरु कसले पाइदिने गराइदियो त ? भन त कतिवटी छोरीहरु भए ? कि ती सबै छोरीहरुका बाबु अरु हुन् ?

आफ्नो यस अन्तिम भनाईमा उनी रिसाइन् कि भन्ने डर लाग्यो र झटपट माफी माग्दै थिएँ, उनले सहजभावमै भनिन्, यसमा तिमीले शंका गर्ने ठाउँ छैन। ती सब पाँचै वटी छोरीहरु आफ्नै लोग्नेका हुन्। अरुका भए सायद तीमध्ये कुनै पनि एक दुई वटा छोरा जन्मिने थिए होलान् !

**** ************** *********************

छोरा नजन्माउनुमा तिम्रो लोग्नेको के दोष छ त ? मैले सोधेँ।

छोरा नपाउनुमा मेरो के दोष त ? उल्टो उनले मलाई सोधिन्। उनको यस सोधाईमा मलाई फेरि हाँसो नउठी रहन सकेन। हाँस्दै भनेँ, दोष न तिम्रो हो, न तिम्रो लोग्नेको। यो त संयोगको कुरा हो छोरा वा छोरी हुनुमा। या त हुनसक्छ- भाग्यको पनि खेल हो।

सम्झ दोष न मेरो हो, न मेरो लोग्नेको। हामी दुवै ठीक छौँ- बच्चा जन्माउन। नत्र यी पाँच पाँचवटी छोरी कसरी जन्मिन्थे ! उनले सुनाइन्, र म समाजका लागि बाँझी भएँ। घरमा अरु परिवारका लागि मैले सन्तानको बाटो मेटिदिएँ। माइतीका लागि उपेक्षित भएँ।
’cause मैले छोरो जन्माउन सकिनँ। त्यसकारण यी सबबाट मान्य हुन मैले एउटा छोरा जन्माउनै पर्छ। एउटा बलियो वीर्य मैले ग्रहण गर्नैपर्छ।

मैले भनेँ, यसमा सम्झ- म राजी भएँ र यो पनि सम्झ तिमीले छोरो नै जन्मायौ। तर के……मबाट जन्मिएको छोराले तिमीलाई शान्ति मिल्ला ? फेरि….तिम्रो घर या समाजले यो कुरा थाहा पायो भने…………………..?

त्यसमा तिमी फिक्री नगर। तिम्रा यी सब तर्कहरु पूर्वाग्रही हुन्। मेरो घर, समाज, लोग्ने सब पूर्वाग्रही हुन्। होइन भने म यसरी सबैबाट परित्यक्ता हुने थिइनँ। मेरो खुद लोग्ने जो एक शिक्षित र समाजमा प्रतिष्ठित व्यक्ति छ, उसले पनि यो कुरा कर्मको खेल हो वा स‍ंयोग हो भनी भनेन र ममाथि सँधै अवहेलनाको दृष्टिले व्यवहार गर्‍यो। त्यो ममा अब सह्य हुन सकेन। सुन्दछु- ऊ अब अरु कोहीसँग लागिरहेको छ रे। उसले त आफूलाई नै दोष दिनुपर्थ्यो जसले एउटा बलियो वीर्य ममाथि खसाल्न सकेन। म त केवल एउटा थैली हुँ। उसको सामर्थ्यले मभित्र जे हालिदिन्छ त्यसलाई मैले बोक्नु नै पर्छ।

मैले हाँसोमा कुरा थपेँ, यदि मबाट पनि छोरी नै जन्मिई भने के गर्छ्यौ ?

तिमीलाई छोरीको रहर छ, होइन र ? तत्कालै उनले कुरा काटिन्।

यसपालि म चुप लागेँ। हामीमा सम्झौता भयो- छोरो उनलाई, छोरी मलाई।

टिप्पणी लेख्नुहोस्

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

%d bloggers like this: