विषयवस्तुमा जानुहोस्

मेरी मनकी रश्मी – कथा (शनिवार साहित्यबाट)

अप्रील 17, 2012

साभार: माईसंसार (विद्युतीय छापामा एउटा नेपाली ब्लग)

Website: http://www.mysansar.com/archives/2012/04/id/25577#more-25577

मेरी मनकी रश्मी
By mysansar, on April 14th, 2012

-सुवास-

मेरा भन्ने कुरा सदा झैं सकिए एकैचोटी। कारण- उस्ले नारी ब्रम्हास्त्र प्रहार गरी, आँशु झारेरै रोइ। अनि याद आयो, सात वर्ष भएछ, ऊ झ्याम्मिएर मलाइ अँगालो हाल्दै रोएको एयरपोर्टमा। सँगै अमेरिका आउने धेरै प्रयास गरे पनि खैरेले खै किन हो पत्याएन उसलाई पहिलोपल्ट एम्बेसीमा। म एक सेमेस्टर चाँडो आउनु पर्ने भयो। मैले पनि म पहिला यहाँ आएर वातावरण मिलाएमा पछि उसलाई सजिलो हुने आश्वाशन दिदै उडेंथें मन नहुँदा नहुँदै। धेरै लामो भयो छ महिना मेरो लागि, उस्ले पनि त्यसै भनी। पछि धेरै राजनीति गरेर भर्जिनिया जान्छु भनेर उ सोझै टेक्सस आएकी थिइ, मेरो कलेजमा। बाउ आमाले छोरी हराइ भनेर धेरै भागदौड गरे अरे, एलिना (उस्की बेस्ट फ्रेन्ड) लाई नाना भाँती छड्के प्रश्न गरे अरे। पछि बिस्तारै हुरी मत्थर भो, पातहरू पनि हल्लिएर थाके शायद।

दिन चर्या ब्यस्त थियो मेरो, अन्डर ग्राजुएटको पढाइ, ग्यास स्टेसनको काम, साहुले मिल्ने भए स्टोरमै सुत भन्न मात्र बाँकी थियो। अनि उस्ले (रश्मी) भर्खरै छेउको सिटीको मलमा थ्रेडिङको काम सुरु गरेकी। थोत्रो टोयोटा क्याम्रि, कहीले काहि त लाग्थ्यो, साला गाडिमा ओछ्यान लगाएर सुत्न पाए पनि हुने। आफ्नो काम, रश्मीको काम, कहीले काँही नाई भन्न नसकेर रश्मीको रुम पार्टनर पूजाको समेत काम। कति हाँक्नु गाडी ? यति नै दुरी काठमान्डौमा ट्याक्सी हाँकेर बेलामा मिटर ज्यादा घुमाको भए त सायद जडिबुटिमा चार आना घडेरी जोडी सकिन्थ्यो होला। धन्य हो मेरो ढाड अनी मेरो थोत्रो क्याम्री, सहनु सहेकै हो। बिस्तारै मेरा हाड जोर्नीहरू झर्किदै गए, कहीले काँही म साँझ बिहान ढिलो रश्मिकोमा पुग्दा अथवा कहीले काँही यसो रोमान्टिक हुँदै गर्दा पूजाको आँखा तराई पनि बढ्दै गयो। यस्तै यस्तैमा एक सेमेस्टर बितेछ, पत्तै भएन। पूजालाई मेरो र रश्मीको लभ स्टोरीले टेन्सन दिएको कुरा बाह्रौ चोटि सुन्नु पर्यो, कन्पारो तातेर आयो। साला छ मैना यसै कुरियो, अर्को छ मैना दौडधुप मै निस्किसक्यो, त्यहाँमाथि यो आमा न मामा पट्टिकी सति सावित्री सासू बन्न खोजेको कति दिन सहनु ?

आजकाल दिन चर्या धेरै सुध्रेको थियो, मैले पनि उस्को मल छेउको ग्यास स्टेसनमा काम मिलाको थिएँ, धेरै जसो आउने जाने समय म्याच गराउने प्रयास हुन्थ्यो हामि दुबै जनाको। जे जस्तो भए पनि दुई कुरा बाट छुटकारा पाइएको थियो, पूजाको गिद्दे हेराइ अनि मेरा रुम पाट्नरको अल्छी तथा कोडिपना। हुन त गर्लफ्रेन्ड संगै नबस भनेर धेरैले सल्लाह दिएका थिए, ‘सगै बसे पछि गर्लफ्रेन्ड पनि बुढी जस्तै गनगने हुन्छन्, छेउछाउ मात्र बसेर गर्लफ्रेन्डको फाईदा पनि लिने, अनि बुढीको बेफाइदा बाट पनि बच्ने’ तार्किक सल्लाह पनि दिएकै हुन साथिहरूले। केही दिन त सोचें मैले पनि, भनिन्छ केटा मान्छेले तीन ठाउँ बाट सोच्छ रे। मैले पनि मन, दिमाख र जननेन्द्रिय लाई एकजुट गरेर सोचें, सँगै बस्ने निधो गरियो, परेको जो सुकैले बेहोरोस्। धेरै कुराहरू फेरिए त्यसपछि, म सरसफाइमा ध्यान दिने भएँ, मुभी मन पराउन थालेँ, उस्ले फुटबल हेर्न थाली, फेसबुकका पासवर्ड साटिए, रिलेसनशिप स्टाटस फेरिए, टी-सर्ट प्यान्ट र जुत्ता म्याच गरेर लाउनु पर्ने हुन थाल्यो, हुँदा हुँदा मेरो बोल्ने स्टाइल केटीको जस्तो हुन थाल्यो भन्न समेत भ्याए साथिहरूले। धेरै कुरा बदलियो, चुरोट खाने बानी पनि छुटी नै सकेको थियो, उस्ले पनि खान्छे भन्ने थाहा पाउनु अघि सम्म त , पछि त सबै साझा भए, एस्ट्रे चुरोट अनि चुरोट तान्ने ओठहरू। जे होस्, एउटा जबान मान्छेका चार आधारभुत आवश्यकताहरू,गाँस, बास, कपास र सहबास रे, त्यतिका लागि बल्छी थाप्नु या भैलो खेल्नु नपर्दा पनि मगजको धेरै हिस्साले फुर्सद पायो। उस्ले सबै मलाइ सुम्पीइ, मैले मेरो सबै उसलाई सुम्पिएँ,मेरो भर्जिनिटी बाहेक, बाँकी भए त उसैलाई सुम्पन्थेँ म पनि, छ मैनाको एक्लो बसाइ, वीकइन्ड , क्लब अनि क्लबभरिका पोटिला खैरिनी हरु, एउटी मेनुकाले मेरो तपस्याको पनि बिश्वामित्र कै हाल गराई। त्यति कुरा बिर्सने हो भने हाम्रा सबै दु:ख बाँडिए, खुशि गाँसिए, उसलाई सहारा, मलाइ भरोसा, रमाउदा रमाउदै सात बर्ष कतिबेला बित्यो, पत्तै भएन, हेर्दा हेर्दै मास्टर्स पनि सकियो। ग्राजुएसनको बेलामा आफ्नो बसाइको तरिकाले गर्दा बाउ आमालाई घुम्न बोलाउन पनि सकिएन, एक मनले धिक्कारेँ आफैंलाइ, फेरि चित्त बुझाएँ आफैंले। मास्टर्स सकिएपछी उ त्यहि बस्ने भै एक दुई मैना आफ्नै फिल्डको काम खोज्न, म आएँ यतातिर कन्सल्टेन्सीमा हान्निदै आइ टी को खेती गर्न।

थाहा छैन यो एक मैनामा के के फूल फुले, उ आज मलाई भेट्न आएकी छे, अचम्मको सरप्राइज लिएर, उसको घरबाट बिहेको प्रेसर दिए रे। ठिक छ एउटा जागिरमा अल्झिन पाए बिहे ठुलो कुरा भएन, अथवा बिना जागिरै पनि सिन्दुरै हाल्न के को आइतबार ? बाँकि सबै सिमा नाघेको बर्सौ भैसक्यो। सात बर्षमा ननिस्केको हाम्रो जातीय अन्तरको कुरा पनि पहिलो पल्ट निस्क्यो, त्यो पनि संगै बिफ खाको मुखबाट। उसको बुबा मुटुको रोगि रे, अलिकति दुख पुग्ने कुरा सुनाउनै हुन्न रे , नयाँ कहानि फुरेछ मार्केटमा, बाबु आमाले अर्कै केटासँग बिहे गर्ने प्रेसर दिए रे, आदी इत्यादी। शुरुमा सबै चिज पत्याएर उसलाई कन्भिन्स गर्ने असफल प्रयास गर्दै थिएँ म बबुरो, अन्त्यमा उस्ले आशुँ झारी, अँगालो मारी अनि बिदा मांगी। त्यहि मान्छे, तिनै आँखा, त्यहि आँशु, सात बर्षमा आँशुको तात्पर्य र नियत पुरै बिपरित भएछ, म एक्लो भै सकेंछु।

मेरो संसार तिर्मिरायो, रुन मलाइ बच्चै देखि आउदैन, नत्र रुन्थें पनि होला। बिर्सी दिनु रे उस्लाइ, के के मात्र बिर्सिनु ? सम्झेँ सात मिनेटमा गएको सात बर्ष, आफू नसुती नसुती उस्को असाइन्मेन्ट गर्दा आँखा कमजोर भएर लगाको चस्मा नाक माथी अझै छ, उस्को फी तिर्दा घोटेको क्रेडिट कार्डको ब्याज अझै तिर्दै छु, अझै कति तिर्नु पर्ने हो, फोन लाइन एउटै हो, मिनेट शेयर गरिन्छ, फेसबुकको पासवर्ड अझै साझा छन्। ‘आइ लभ यू, आइ मिस यू’ के के हो के के, उसैले सिकाइ उसैले बिर्साइ। आधा घण्टा मैले टेक्स्ट रिप्लाई नगर्दा मेरा साथि हरूलाई समेत टेक्स्ट गर्न भ्याउँथी, त्यो नाटक या यो नाटक ? पुराना केही कुराहरू सम्झन लायक रहेनन, बिर्सन लायक मलाइ छोडिन। अनि फेरि सल्किए अनगिन्ती चुरोटहरू,’बैगुनी भन्दा चुरोट जाति, मुटुनै जलाए पनि आफूले चाहुन्जेल ओठमा टाँसिरहन पाइन्छ’ कतै ट्रकको पछाडि देखेँथें, हो रैछ। धुवैँ धुवाँ भो कोठा, घरि घरि स्मोक डिटेक्टर कहालिन्छ, मन कहालिएको बेला। त्यस्को मुखैमा टेप बेरिदिएँ, बल्ल शान्त भयो।

मन बहलाउने सबै उपायहरू नाकाम हुँदै गएका छन आजकाल, एउटा थोत्रो बास्केटबल लिएर कोर्टमा जान्छु हरेक साँझ, थोरै भए पनि बिर्सन खोज्छु। आज त एक्छिन रिङ्ग के ताकेको थिएँ, एउटा फुच्चे आएर पालो पालो रिङ्ग मा ट्राइ गर्ने प्रस्ताब राख्यो। धिक्कारेँ आफैलाई, एउटा जाबो रिङ्ग एक्लौटी बनाउन नसक्ने लाछी, रिस उठ्यो, के गरु ? फुच्चेलाई थर्काउँ ? फेरि डर लाग्यो, माझी औँला ठड्याइदियो भने, कालेको बच्चो पो हो त। घर फर्किदै थिएँ, साथिले फोन गर्यो, रश्मीको बिहेको कुरा चलेको केटा ग्रिन कार्ड होल्डर रे। बल्ल थाहा भो, जात, प्रेसर, मुटुको रोग, सबै कहानि एकाएक किन फुर्यो भनेर। सोल्टिनीले नराम्रो सँग मामु बनाइछे, बल्ल भेउ पाइयो।

ओछ्यानमा बसेर निदाउने प्रयास गर्दै थिएँ, घरबाट आमाको फोन आयो, स्वर दरो पार्दै उठाएँ। आमाले अरु दिन भन्दा साह्रै लामो कुरा गर्नु भो, मैले सबै कुरामा अँ, हो, हुन्छ भनेर सहमती जनाइरहेँ, फोन राखियो। म ओछ्यानबाट जुरुक्क उठेर ल्यापटप खोलेँ, फेसबुक खोलेर आमाले भनेको नाम सम्झिदै सर्च गरेँ ‘सुश्मा पौडेल’, फेसबुकले तीन बटी सुश्मा पौडेल देखायो, तिनवटै राम्रा रैछन। (नराम्रो फोटो त कस्ले पो प्रोफाइल पिक्चर राख्छ र ?)खिसिक्क हाँस्दै घर जाने प्लेनको टिकट हेर्न थालेँ। लामो सास तानेर ओछ्यानमा पल्टिएँ, मेरो सामुन्नेको भित्तामा सजिएको फोटो फ्रेममा बल्ल मेरो ध्यान गयो, त्यहाँ मूर्ख म अनि मेरी मनकी रश्मी, दुबै हाँसीरहेका थियौँ।

टिप्पणी लेख्नुहोस्

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

%d bloggers like this: