विषयवस्तुमा जानुहोस्

थुतुनो पुराण

मे 2, 2012

साभार:-  Mysansar, April 3rd, 2011

लेखनाथ गौतम/टेक्सास, अमेरिका

थुतुनो याने मुख । यो नाकको मुन्तिर, चिउडोको केही माथी अबस्थित छ । यो धेरै प्रकारले प्रयोग हुन्छ । यसको प्रमुख काम खाना खानु हो । त्यस बाहेक रुघा लागेर होस् वा साइनस बाट पीडित हुँदा यसले सास फेर्ने काम पनि गरिदिन्छ । त्यसो त मुख उक्काएर सधैं मुखबाट सास फेर्ने पनि धेरै छन् । मुखको अर्को प्रमुख काम बोल्नु पनि हो । बोली गोली पनि बन्छ जब त्यो खतरनाक हुन्छ । त्यस्तो बोलीले समय, ठाउँ र परिस्थिती अनुसार कम्पन पैदा गर्छ । सानो मान्छेको मुखले सानै अनी ठुलो मान्छेको मुखले ठुलै असर गर्छ समाजमा । बोलीले समाज परिवर्तन गर्न सक्छ भने बोलीले नै बिध्वन्स पनि । यसले कहिलेकाही देशको नक्सा समेत बदल्न सक्छ l त्यसैले यसको काम अनुसार कहीले नाम त कहीले काही बदनाम हुन्छ यहि मुख ।

मान्छे कस्तो छ भन्ने कुरा मुखले चाल पाइन्छ धेरै जसो । उस्को बोली नै यस्तो अस्त्र हो जसबाट उस्को ब्यक्तित्व झल्कीन्छ । उस्को दिमागमा कति गुदी छ भनेर सजिलै थाहा पाउने माध्यम उस्को बोली नै हो । आफ्नो कुरा जति लुकाउन खोजे पनि, आफू जान्ने भएको जति स्वाङ पारे पनि बोलीको दमले उस्को सतह स्पस्ट हुन्छ । शब्दलाई घुमाइ फिराइ गरेर आफ्नो अनभिग्यता वा अक्ष्यम्तालाई लुकाउन खोजे पनि बोली बाट उस्को धोती खुस्की हाल्छ ।

यसरी मान्छे बोल्ने जस्तो गहन काम मुखबाट हुन्छ । यसले नै हो इस्टमित्र बनाउने र दुस्मन बनाउने पनि । कुरा गर्ने काइदाले कहीले उसलाई फाईदा त कहीले घाटो हुन्छ । सबै चाहन्छन् मेरो कुरा सबैले सुनुन् । मेरो कुराको राम्रो प्रभाव परोस । ठुलै देशको नेता मात्र होईन ४ जनाको परिवारको प्रमुखले पनि आफ्नो बोलीको प्रभाव राम्रै परेको हेर्न चाहन्छ । त्यसैले तुक नभएको बोली बोले पनि “म”, “मेरो कुरा” “मैले भनेको” जस्ता कुराहरु धेरै जस्तो सुन्न पाईन्छ । यस्सो गफ गर्न बस्यो भने धेरैको मुखारबिन्दबाट यस्ता कुरा निस्किरहन्छन् । यस्मा हामी नेपालीको मात्र कपी राइट छैन, यो युनिभर्सल आइडिया हो ।

तर जब मुखले जथाभावी बोल्न थाल्छ, यो मुख होईन थुतुनो कहलिन्छ । हामी बढी बोल्यो भने भन्छौ कति थुतुनो चलाएको भनेर । जहिले सम्म यो मुख हुन्छ त्यसको नकारात्मक प्रभाव कम वा सुन्य हुन्छ । तर जब यो थुतुनो बन्छ, यसले बित्यास पार्छ, बिगार्छ, भत्काउछ, ध्वस्त पार्छ । यसले इस्ट लाई दुस्ट बनाउछ । साथिलाई सत्रु बनाउछ । वरको लाई परको बनाउछ । माया गर्ने हरु घ्रिणा गर्न थाल्छन् । सुभचिन्तकहरु कुरा काट्ने हुन्छन् । त्यहि थुतुनोले उसलाई एक्ल्याउछ ।

थुतुनो कति प्रकारका होलान् ? बडो जटिल प्रश्न हो यो । यसलाई बर्गिकरण गर्नु सजिलो काम होईन । ’cause हरेकको आफ्नै प्रकारको थुतुनो हुन्छ । एउटै मान्छेको पनि बेलाबखत फरक खालको थुतुनो हुनसक्छ । अत्यन्तै माया गर्ने सतिदेवी जस्ती श्रीमतीको रिसको बेलामा सुरसाको जस्तो थुतुनो हुनसक्छ । साप्रामा टाउको टेकाएर मुकाउदै कुरा गर्ने बेलामा माया गर्दै कपाल मुसार्दै मिठा शब्द बोल्ने बोय फ्रेण्ड रिसाउदा रावण जस्तो बोल्न थाल्न सक्छ । त्यसैले थुतुनाको प्रकार छुट्टाउनु अरिगाठेको खुट्टा गन्नु जस्तै हो । तर सोलोडोलो रुपमा मैले यिनलाई तीन बर्गमा पार्ने प्रयास गरेको छु । त्यस्भित्र पर्ने नपर्ने, अटाउने नअटाउने जिम्मा थुतुनाहरुकै । मलाई केको टन्टन ।

काउले थुतुनो : थुतुनाको प्रकारले नै बुझिन्छ यो कस्तो थुतुनो हो भनेर । काउलो एक प्रकारको रुखको नाम हो । तिहारमा सेल रोटी पकाउदा आमाले त्यहि काउलाको बोक्रो थिचेर हाल्नु हुन्थ्यो । रोटी मज्जाले फुर्थे, आजकाल सोडा हालिन्छ त्यसको ठाउमा । त्यो चिप्लो हुन्छ । त्यसैले काउले थुतुनो पनि चिप्लो हुन्छ । चिप्लोमा टेकेर कति चोटि हामि लड्छौ, पल्टिन्छौ त्यो त भन्नै पर्दैन । यो चिप्लो हुन्छ, चिल्लो हुन्छ । रोटी चिल्लो मिठो कुरा खस्रा मीठा भन्ने उक्ती हाम्रो नेपालमा त्यसै चलेको होईन । यो काउले थुतुनो सुन्नमा मज्जाको हुन्छ । कुरा मिठा हुन्छन् । तर परिणाम त्यसले तपाईंलाई लडाइदिन्छ । त्यस थुतुना बाट निस्केका हरेक बचन अर्थपुर्ण हुन्छन् । त्यस्मा हास्यरस मिस्रित हुन सक्छ तर त्यो कुटिल हुन्छ । त्यहा शब्दको धेरै अर्थ लाग्छन । तपाईं त्यसबाट यति प्रभावित हुनुहुन्छ की आफू चिप्लिएर खुत्रुक्क लडेको तपाईं चाल पाउनु हुन्न । त्यसैले यो निकै सतर्क हुनु पर्ने थुतुनो हो ।

छुचो थुतुनो : यो थुतुनोलाई फत्फते थुतुनो पनि भन्न सकिन्छ । यो दिमागको नियन्त्रणमा प्राय हुदैन । बोल्दा बोल्दै आफ्नो धोती खुस्केको यो थुतुनाधारीहरुले चाल नै पाउदैनन् । यिनीहरुलाई सबैको ’boutमा थाहा भए जस्तो बक्बक गर्छन् माने उनिहरु त्रिकालदर्शी हुन् । सबैको ’boutमा केही न केही प्रतिक्रिया यो थुतुनो वालाहरुसँग हुन्छ । नेपाली समाजमा महिलालाई रुद्रघण्टी नभएको भनेर आलोचना गरिन्छ तर यस्मा महिलाको मात्र कपिराइट छैन, पुरुष पनि कम छैनन् । शायद यो बर्गका मान्छेहरुको रुद्र घण्टि हुदैन । यो थुतुनाधारीहरुको कुराले अरुलाई त असर पर्ने नै भयो, त्यो भन्दा बढी उनिहरुलाई नै पर्छ । बोली दिमागको नियन्त्रणमा नहुने हुनाले के बोले भन्ने भ्याउ उनिहरु पटक्कै पाउदैनन् फल्स्वरुप ऊनीहरुलाई समाज्मा फाल्तु मान्छेको दर्जामा राखिन्छ । “यसको कुरा केको पत्याउनु” धेरैको प्रतिक्रिया यस्तै हुन्छ । पतरपतर बोलिरहने हुनाले बोलिमा कुनै दम हुदैन । गोप्य्ता कुन चराको नाउ हो यिनीहरुलाई पत्तो हुदैन । कुनै गोप्य सुचना वा कुरो कानकान्मा पुराउन एफएम रेडियोमा दिनु पर्दैन, यिनैलाई भन्दिनुस् काम खत्तम । नराम्रो कुरो त यिनले घण्टा भरमै घरघरमा पुर्याउछन् । त्यसैले गोप्य कुरो यस्ता सँग नगर्दै बेश, राख्नु पर्छ धेरै होश ।

दुस्ट थुतुनो : यो थुतुनो लाई गनगने थुतुनो पनि भनिन्छ । यो खाली गनगन गरिरहन्छ । यस्मा खुशी र उमंग हुदैन । बोलिमा गोली हुन्छ । बोल्दा घोचेरै बोल्छन यो बर्गका मान्छेहरु । अर्काको खेदो खन्नु यसको प्रमुख बिशेसता हो । राम्रो कामलाई पनि नराम्रो कोणबाट बिस्लेशण गर्नु, सकारात्मक कामलाई नकारात्मक तरिकाले व्याख्या गरेर त्यसको उछित्तो काढ्नु यो थुतुनाको गुण हो । बोली सुन्दा नमिठो लाग्दैन तर त्यसको असर निम्पत्ताको भन्दा ठीक उल्टो हुन्छ । अरुलाई दुखै दिने, दु:ख र कस्टकै चाहना गर्ने र फल्स्वरुप आफू पनि दु:खमै फस्नु पर्ने यो थुतुनाधारीहरुको बाध्यता हो । आत्मसम्मान भन्ने यिनिहरुमा पटक्कै हुदैन । यो भएन, त्यो भएन, यस्तो भएन, त्यस्तो भएन, उस्को भयो मेरो भएन, उस्ले गर्‍यो मैले सकिन, उसङग छ म सँग छैन् भनेर २४ सै घण्टा गोइडरो गर्नु यो थुतुनाधारीहरुको धर्म हो । त्यसैले यो थुतुनो पनि खतरा नै हुन्छ । सतर्क हुनु नै बेश हुन्छ । टाढै रहनु उचित हुन्छ ।

यसबाहेक थुतुना अरु प्रकारका पनि होलान् सबैलाई येत्तिमा अटाउन गाह्रो छ । तपाईं हामी मध्य को को यो बर्गमा पर्छौ हेर्नु, अनुभव गर्नु र मुखलाई थुतुनो बन्न बाट जोगाउने काम गर्न अझै ढिला गर्नु हुन्न ।

टिप्पणी लेख्नुहोस्

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

%d bloggers like this: